विद्यालयको संक्षिप्त इतिहास -

शिक्षाप्रेमी स्व. किशोर चन्द्र ढुंगानाको सक्रियतामा खैरहनी गा.वि.स. अन्तर्गत मझुई भन्ने गाउँको जागरुक गाउँलेहरुको सक्रियतामा वि.सं. २०१२ सालमा र्सवप्रथम मझुईमा (प्राइमरी) विद्यालयको नाममा स्थापना गरिएको यस विद्यालयको इतिहास करिब ४७ वर्ष पुरानो छ । स्थापना कालको ५ देखि ६ महिना पछि नै सुल्तानाका बुधै (बोलिया) महतो, बृजलाल चौधरी र अन्य गाउँलेहरुको सक्रियतामा सो प्राइमरी स्कूल सुल्तानामा स्थानान्तरण गरियो । जानकारीमा आए अनुसार सो प्राइमरी विद्यालयको पहिलो शिक्षक श्री रामनाथ पाण्डे हुनुहुन्थ्यो । वि.सं. २०१३ सालमा पुनः यसलाई खैरहनी गाउँमा सारियो । त्यस समयमा हाल विद्यालय भएको ठाउँमा धर्म गोदाम थियो । जुन अति नै जीर्ण अवस्था थियो । वि.सं. २०१४ सालमा धर्म गोदाम भवन र १ विगाहा १५ कठ्ठा जग्गा लिलाम गरी स्कूलको नाममा लिइयो र खैरहनी गाउँबाट विद्यालयलाई हाल विद्यालय भएको ठाउँमा सारियो ।

वि.सं २०१९ सालमा शैलेन्द्रकुमार आयोगबाट यस विद्यालयको नाममा १३ विगाहा जग्गा प्राप्त भयो तर वि.सं. २०२६ सालको नापीले विद्यालयको नाममा ११ विगाहा ७ कठ्ठा जग्गा मात्र कायम गरी दियो । एवम् रीतले तल्कालीन रामेश्वर पाण्डे, पुरेन्द्रकुमार मैनाली र यस भेगका शिक्षानुरागी अभिभावकहरुको सक्रिय सहभागितामा वि.सं. २०२४ सालमा यस विद्यालयमा माध्यमिक तहको शिक्षा दिन आरम्भ गरी सरकारी स्वीकृति समेत प्राप्त गरिएको पाइन्छ । माध्यमिक विद्यालय भए पछिका प्रथम प्रधानाध्यापक स्व. पुरेन्द्रकुमार मैनाली हुनुहुन्थ्यो । स्थापनाकाल वि.सं. २०१२ सालमा यस विद्यालयको नाम श्री खैरहनी प्राइमरी स्कूल भएको र वि.सं. २०२० सालमा महेन्द्र विद्याश्रमको नाम दिई संचालनमा रहेको यस विद्यालयको नाम वि.सं. २०२४ सालमा पृथ्वी मा.वि. का रुपमा परिवर्तन गरिए पश्चात पुनः श्री खैरहनी मा.वि. कायम गरिएको पाइन्छ । यसरी स्थापना कालदेखि वर्तमान समयसम्म आइपुग्दा यस विद्यालयको नाम परिवर्तन हुदै अन्ततः श्री खैरहनी माध्यमिक विद्यालय खैरहनी नामले परिचित छ ।

देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा अहम् भूमिका खेल्दै आएको यस विद्यालयले इतिहासका कालखण्डमा जति सुकै उतारचढाव व्यहोर्नु परे पनि शैक्षिक उन्नयन गर्ने कार्यमा विषय परिस्थितिहरुसँग सम्झौता गर्दै आईरहेको छ, अझ चितवन जिल्लाको सदरमुकाम क्षेत्रदेखि १८ कि.मी. पर्वमा अवस्थित यस विद्यालयले पदमपुर, कुमरोज, कठार, पिप्ले, भण्डारा, वीरेन्द्रनगर, चैनपुर र बछ्यौली लगायतका क्षेत्रहरुमा समेत शैक्षिक विकास गर्न ठूलो देन दिएको छ । स्मरणीय छ, आजपनि यस विद्यालयबाट उत्पादन भएका जनशक्ति मुलुकका हितका लागि कृतसंकल्पित भएर देशभित्र र बाहिर आ-आफ्नो क्षमता देखाइरहेका छन् ।

शिक्षादानलाई सर्वोपरि ठान्नु योग्य शिक्षकको सर्वोत्तम गुण हो । विगत लामो समयदेखि यस विद्यालयमा सेवारत शिक्षकहरु र पूर्व शिक्षकहरुको महिमामय योगदानले पनि यस विद्यालयलाई आफ्नो लक्ष्यसम्म पुग्न थप टेवा दिएको छ ।

©Shree Khairahani Secondary School
All Right Reserve, 2006
Designed By: e-ZONE